एनपीएलः सुदूपश्चिमको पहिलो जित

33 Shares

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणअन्तर्गत बुधबार भएको खेलमा सुदूरपश्चिम रोयल्सले जित निकालेको छ । सुदूरपश्चिमले पोखरा एभेन्जर्सलाई ६ विकेटले पराजित गरेको हो। यससँगै सुदूरपश्चिमले प्रतियोगितामा पहिलो जित दर्ता गरेको छ । 

कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा पोखराले दिएको १४६ रनको लक्ष्य सुदूरपश्चिमले १६ ओभर ५ बलमा ४ विकेट गुमाएर पूरा गर्‍यो । सुदूरपश्चिमका कप्तान दीपेन्द्रसिंह ऐरीले अविजित ५१ रन बनाए । उनले ३६ बलमा अर्धशतकीय पारी खेले । 

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको पोखरा एभेन्जर्सले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १४५ रन बनाएको थियो । पोखराका अर्जुन घर्तीमगरले अविजित ४० रन बनाए । महेदी हसनले २१ बलमा ४ चौका र १ छक्कासहित ३२ रन तथा कप्तान कुशल भुर्तेलले १७ बलमा ४ चौकासहित २१ रन जोडे । बलिङतर्फ सुदूरपश्चिमका अनिल खरेलले ३ विकेट लिए भने कप्तान दीपेन्द्रसिंह ऐरीले १ विकेट लिए । 

यसअघि पहिलो खेलमा सुदूरपश्चिम लुम्बिनी लायन्ससँग १९ रनले पराजित भएको थियो । पोखरा एभेन्जर्सले भने प्रतियोगितामा आफ्नो पहिलो खेल खेलेको हो । 

बिहीबार दुई खेल हुनेछन् । पहिलो खेलमा जनकपुर बोल्ट्स र काठमाडौं गोर्खाज तथा दोस्रो खेलमा विराटनगर किङ्स र कर्णाली याक्स आमनेसामने हुनेछन् । मंसिरसम्म सञ्चालन हुने प्रतियोगितामा आठ टोली सहभागी छन् । 

फेसबुकबाट तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार