बडादशैं आज सकिदै, विदाईको विधि के ?

35 Shares

काठमाडौं । यस वर्षको बडादशैँ अर्थात दुर्गा पक्ष आजदेखि समापन हुँदैछ । आश्विन शुक्ल पूर्णिमाका दिन मनाइने कोजाग्रत पूर्णिमा आज साँझ सम्पन्नताकी देवी महालक्ष्मीको पूजाआराधना गरी रातभर जाग्राम बसेर मनाएसँगै १५ दिन लामो दशैँ सकिँदैछ ।

आश्विन शुक्ल प्रतिपदाका दिनदेखि शुरु भएको दुर्गा पक्ष अर्थात् दशैँ पर्व कोजाग्रत पूर्णिमाका दिन समापन हुने गर्दछ । यस दिन घटस्थापनाका दिन राखिएका जमरा विसर्जन गर्ने र माता दुर्गाका मुख्य तीन रूप महाकाली, महालक्ष्मी र महासरस्वतीमध्ये महालक्ष्मीको पूजा गरेर दुर्गा पक्षलाई बिदा गरिन्छ ।


आजको दिन सायंकालमा महालक्ष्मीको पूजा आराधना गरी राति जाग्राम बसेको मानिसका घरमा पृथ्वी भ्रमण गर्दै हिँडेकी महालक्ष्मी प्रवेश गरी धन, ऐश्वर्य दिई सम्पन्न बनाउँछिन् भन्ने धार्मिक विश्वासका आधारमा यो पर्व मनाउन शुरु गरिएको हो ।

माता दुर्गाका तीनवटा रुपमध्येका एक रुप महालक्ष्मीको पूजा गरेर आज दुर्गा पक्षलाई बिदा गरिन्छ । नवरात्र विजयादशमीकै दिन सकिने भए पनि दुर्गा पक्ष भने आश्विन शुक्ल पूर्णिमाका दिनमा समाप्त हुन्छ ।

लक्ष्मीपूजाको १५ दिनअघि महालक्ष्मीको आराधना गरिने भएकाले यस पर्वको विशेष महत्व छ । यो पूर्णिमालाई कौमुदी पनि भनिन्छ ।

आज बेलुकी अखिल (सबै) बलि पूर्ति नभएसम्म देवीको प्रसादको रूपमा दशैंको टीका र जमरा लगाउनु शास्त्रसम्मत हुने नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ ।

विहानै दशैंघरका सम्पूर्ण फूलप्रसाद जमराको अवशेष नजिकको नदी, तलाउ, पोखरी आदि तीर्थस्थलमा लगेर विसर्जन गरिन्छ ।

भोलिदेखि कात्तिक स्नान सुरु हुने र आकाशदीप दान गर्ने प्रचलन छ । यसलाई दशैंको विदा र तिहारको तयारीका रूपमा पनि लिने  गरिन्छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार