एनपीएलः कर्णाली र चितवनको विजयी सुरुवात

39 Shares

नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको तेस्रो संस्करणमा कर्णाली याक्सले जनकपुर बोल्ट्सलाई १९ रनले पराजित गर्दै प्रतियोगितामा विजयी सुरुवात गरेको छ । मङ्गलबार त्रिवि क्रिकेट मैदानमा भएको खेलमा कर्णालीले दिएको १३३ रनको लक्ष्य पछ्याएको जनकपुर १९ ओभर तीन बलमा ११३ रनमा अलआउट भयो ।

जनकपुरका अभिषेक तिवारीले १७ बलमा २० रन बनाए । मोइन अलीले २२ बलमा १९, कप्तान हरमित सिंहले १३ बलमा १९, जेम्स निशमले १३ बलमा १५ र मायन यादवले ११ बलमा १४ रन जोडे । तर, अन्य ब्याटरले उल्लेखनीय योगदान दिन नसक्दा जनकपुर लक्ष्यसम्म पुग्न सकेन ।

कर्णालीका युनिस ठकुरी र हुसेन तलातले समान तीन विकेट लिए । नन्दन यादवले दुई तथा कप्तान सोमपाल कामीले एक विकेट लिए । यस जितसँगै कर्णालीले एनपीएलको तेस्रो संस्करणमा सुखद सुरुवात गरेको छ ।

यसैगरि, मंगलबार नै भएको अर्को खेलमा चितवन राइनोजले पनि विजयी सुरुवात गरेको छ ।  खेलमा चितवनले विराटनगर किंग्सलाई ८ रनले पराजित गरेको हो । चितवनले दिएको १५८ रनको लक्ष्य पछ्याएको विराटनगर १९।३ ओभरमा १४९ रनमा समेटियो ।

विराटनगरका इमरान शेखले सर्वाधिक ३९ रन बनाउँदा आन्द्रे रसेलले १७ बलमा चार छक्का र एक चौकासहित ३३ रन जोडे । त्यस्तै, लोकेश बमले २६ र बसिर अहमदले १३ रन बनाए । चितवनका कमल सिंह ऐरीले उत्कृष्ट बलिङ गर्दै चार विकेट लिए । रिजन ढकालले दुई तथा टम टेलर, डान मोस्ली, मौसम ढकाल र रन्जित कुमारले एक–एक विकेट लिए ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको चितवनले निर्धारित २० ओभरमा तीन विकेट गुमाएर १५७ रन बनाएको थियो । उसका लागि डेविड मलानले पाँच छक्का र पाँच चौकासहित ७० रन बनाए । रवि बोपारा ३२ र डान मोस्ली २९ रनमा अविजित रहे भने देव खनालले १२ रन जोडे । विराटनगरका एन्जेलो म्याथ्युज, आन्द्रे रसेल र चरिथ असलंकाले एक–एक विकेट लिए ।  

फेसबुकबाट तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार