काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय समिति युवामय देखिएको छ । कांग्रेसको १५ औं महाधिवेशनबाट ३५ वर्षमुनिका २१ जना युवाको केन्द्रीय कार्यसमितिमा प्रवेश भएसँगै कांग्रेस नेतृत्वमा युवा पहुँच बढेको हो । असोज १८–२३ मा सम्पन्न महाधिवेशनमा ३५ वर्षमुनिका युवा खुल्लातर्फ ७ र प्रदेशगत खुल्ला र महिलातर्फ एक–एक गरी २१ जना युवा केन्द्रीय कार्यसमितिमा पुगेका हुन्।
३५ वर्षमुनिका युवा खुल्ला केन्द्रीय सदस्यको ७ पदमा सचिन तिमल्सेना, इन्जिनियर अभिषेक आत्रेय, सुशील भट्ट, डा आयुस बगाले,आदर्श मल्ल, इन्जिनियर रोशन बस्नेत र इन्जिनियर शैलेश मिश्र निर्वाचित भए। सात पदका लागि २७ जना चुनावी मैदानमा भिड्दा उनीहरू निर्वाचन जित्न सफल भए। यस्तै ३५ वर्षमुनिका प्रदेशगत खुल्ला र महिला क्लस्टरबाट १४ जना निर्वाचित भए।
कोसी प्रदेश खुलातर्फ इन्जिनियर हेमकाजी बस्नेत निर्वाचित भए। कोसी प्रदेश महिलातर्फ डा योशिका भट्टराई विजयी भइन्।
मधेसप्रदेश खुलातर्फ ९ जना प्रतिस्पर्धीलाई पराजित गरेर गौरव पाण्डे केन्द्रीय सदस्य बने। महिलातर्फ ममता शर्मा केन्द्रीय सदस्यमा विजयी भइन्।
बागमती प्रदेश खुलातर्फ नेविसंघ काठमाडौंका अध्यक्ष अंशुल केसी निर्वाचित भए। यस्तै महिलातर्फ रजनी थापा निर्वाचित भइन्। जेसिस नेपालकी पूर्व अध्यक्ष थापाले प्रतिभा उप्रेती, अभिप्सा पौडेल, शोभा कुमारी गौतम र सलिना केसीलाई पछि पारिन् ।
गण्डकी प्रदेश खुलातर्फ इन्जिनियर सुवास पौडेल निर्वाचित भए। गण्डकी महिलातर्फ डा कला पन्त केन्द्रीय सदस्य बन्न सफल भइन्।
लुम्बिनी प्रदेश खुलातर्फ अनुराग खड्का निर्वाचित भए। महिलातर्फ सुष्मा पाण्डे निर्वाचित भइन्।
कर्णाली प्रदेश खुल्लातर्फ मोहन राना केन्द्रीय सदस्य बने। यस्तै महिलातर्फ भगवति शाही विजयी भइन्। मनसरा कुमारी शर्मालाई भारी मतान्तरले शाहीले हराइन्।
सुदूरपश्चि प्रदेश खुलातर्फ इन्जिनियर भुवनराज भट्ट निर्वाचित भए। यस्तै सुदूरपश्चि प्रदेशको महिलातर्फ रिता शाही निर्वाचित भएकी छन्।
कांग्रेसको केन्द्रीय कार्यसमितिमा ३५ वर्षमुनिका २१ जनाका लागि सदस्य पदमा आरक्षण व्यवस्था छ। प्रदेशबाट निर्वाचित हुने १४ जनामा सात महिला अनिवार्य गरिएको छ।
खुला र अन्य क्लस्टरमा प्रतिस्पर्धा गरेर पनि युवा केन्द्रीय कार्यसमितिमा आएका छन्। निर्वाचन हुने व्यवस्था रहेको १९ जना पदाधिकारी मध्ये ४० वर्ष मुनिकाका फिर्दोस आलम सहमहामन्त्री (मुस्लिमतर्फ) निर्वाचित भए। पदाधिकारी ७० वर्षका विनोद चौधरी सबैभन्दा जेष्ठ छन्।