काठमाडौं । यमनका इरानसमर्थित हुथी विद्रोहीले चिनियाँ पार्ट्सको सहयोगमा मध्यम दूरीको नयाँ र अत्याधुनिक ब्यालिस्टिक क्षेप्यास्त्र प्रणाली निर्माण गर्ने प्रयास गरिरहेको एक नयाँ प्रतिवेदनले देखाएको छ।
द्वन्द्वग्रस्त क्षेत्रमा हतियारको प्रयोग र आपूर्तिको अनुगमन गर्ने बेलायतस्थित संस्था ‘कन्फ्लिक्ट आर्मामेन्ट रिसर्च’ले बुधबार सार्वजनिक गरेको प्रतिवेदनमा यस्तो उल्लेख गरिएको हो।
साउदी अरेबियासँग जारी युद्धका क्रममा हुथी विद्रोहीले मध्यपूर्वकै अत्याधुनिक सैन्य शक्तिमध्ये एक साउदी सेनालाई समेत चुनौती दिन सक्ने क्षमता प्रदर्शन गरिरहेका बेला उक्त प्रतिवेदन सार्वजनिक भएको हो।
निर्माणाधीन क्षेप्यास्त्र प्रणालीले हुथी विद्रोहीलाई साउदी अरेबिया र इजरायललाई अझ सटीक रूपमा निशाना बनाउन सहयोग गर्न सक्छ। यसका लागि चीनतर्फ निर्भर हुनु उनीहरू इरानबाट क्रमशः स्वतन्त्र हुँदै गएको संकेतसमेत हुन सक्ने विश्लेषण गरिएको छ।
हुथी विद्रोहीको हतियार निर्माण गर्ने महत्वाकांक्षा बढ्दै
प्रतिवेदनअनुसार हुथी विद्रोहीले इरानको ‘खैबर शेकान’ सटीक निशाना लगाउन सक्ने क्षेप्यास्त्रको संस्करण निर्माण गर्न उपयोगी हुने महत्त्वपूर्ण पार्ट्स चिनियाँ आपूर्तिकर्ताबाट प्राप्त गर्ने प्रयास गरेका छन्। खैबर शेकान क्षेप्यास्त्रको मारक दूरी करिब २ हजार किलोमिटर छ।
क्ष्ःभ् (
कन्फ्लिक्ट आर्मामेन्ट रिसर्चका वरिष्ठ विश्लेषक फाबियन हिन्जले भने, ‘हुथीहरूको स्थानीय स्तरमा हतियार उत्पादन गर्ने महत्वाकांक्षा यसअघि अनुमान गरिएको भन्दा निकै ठूलो छ।’
विश्वभरका युद्धग्रस्त क्षेत्रमा हतियारको आपूर्ति र आवागमनको अनुसन्धान गर्ने उक्त संस्थाका विश्लेषक हिन्जका अनुसार, ‘यस प्रकारका पार्ट्स निकै विशिष्ट प्रकृतिका छन्। तिनको उत्पादन गर्न क्षेप्यास्त्रसम्बन्धी डिजाइन जानकारी आवश्यक पर्ने थियो।’
उनका अनुसार यी सामग्री विभिन्न नागरिक प्रयोजनमा प्रयोग गर्न सकिने सामान्य वस्तु होइनन्।
वासिङ्टनस्थित चिनियाँ दूतावासका प्रवक्ता लिउ चाङले कन्फ्लिक्ट आर्मामेन्ट रिसर्चको प्रतिवेदनमा उल्लेख गरिएका विशिष्ट निष्कर्षबारे प्रत्यक्ष प्रतिक्रिया दिएनन्। तर उनले चीनले आफ्नो ‘अन्तर्राष्ट्रिय दायित्व’ पूरा गरिरहेको बताए।
चाङले एक वक्तव्यमा भने, ‘चीनले सैन्य सामग्रीको निर्यातमा सधैँ सावधानीपूर्ण र जिम्मेवार दृष्टिकोण अपनाउँदै आएको छ। दोहोरो प्रयोग हुन सक्ने सामग्रीको निर्यातलाई पनि कडाइका साथ नियन्त्रण गर्छ।’
चीन इरान र साउदी अरेबिया दुवैबाट ठूलो परिमाणमा तेल खरिद गर्ने मुलुक हो। सन् २०२३ मा दुवै देशबीच सम्बन्ध सुधार गराउन चीनले आफ्नो प्रभाव प्रयोग गरेको थियो। हुथी विद्रोहीले साउदी अरेबियाका विमानस्थलमा गरेका विभिन्न आक्रमणको चीनले निन्दा गर्दै युद्धको तनाव कम गर्न आह्वान गरेको थियो।
यसैबीच, साउदी अरेबिया र यमनको सरकारले गत महिना तेललगायत वस्तुको व्यापारका लागि महत्त्वपूर्ण मध्यपूर्वी समुद्री मार्ग बाब अल–मन्देब जलडमरूमध्यबाट हुथी विद्रोहीलाई पछाडि धकेल्ने उद्देश्यसहित सैन्य अभियान सुरु गरेका थिए।
यमनमा क्षेप्यास्त्र निर्माणका महत्त्वपूर्ण पार्ट्स बरामद
कन्फ्लिक्ट आर्मामेन्ट रिसर्चको प्रतिवेदन यमन सरकारका अधिकारीहरूले जुलाईमा सार्वजनिक गरेको विवरणमा आधारित छ। त्यसबेला अधिकारीहरूले शंकास्पद उपकरणसहितका दुई खेप नियन्त्रणमा लिएका थिए।
ती सामग्री चीनबाट पठाइएका थिए र यमनको होदेइदा बन्दरगाहमा पुर्याउने योजना थियो। इजरायली अधिकारीहरूले होदेइदा बन्दरगाहलाई इरानले हतियार स्थानान्तरणका लागि प्रयोग गर्दै आएको बताएका छन्। संयुक्त राष्ट्रसंघका प्रतिवेदनअनुसार हुथी विद्रोहीका लागि पठाइएका र बरामद गरिएका खेपमध्ये सबैभन्दा ठूलो हिस्सा चीनबाट आएको देखिन्छ।
बरामद सामग्रीमा क्षेप्यास्त्र सञ्चालनका लागि आवश्यक विभिन्न पार्ट्स पनि थिए। तीमध्ये क्षेप्यास्त्रलाई स्थिर राख्ने पखेटाका भित्री संरचना, नोजल जडान गरिएका रकेट इन्जिनका पछाडिका भाग तथा रकेट इन्जिन प्रज्वलित गर्ने उपकरण समावेश थिए।
त्यस खेपमा फेनोलिक रेजिन पनि भेटिएको थियो। यो सामग्री क्षेप्यास्त्रलाई अत्यधिक तापबाट जोगाउने विशेष आवरण निर्माणमा प्रयोग हुन्छ। प्रतिवेदनअनुसार वायुमण्डलमा अत्यधिक सुपरसोनिक गतिमा उड्दा उत्पन्न हुने तीव्र तापबाट ब्यालिस्टिक क्षेप्यास्त्रलाई जोगाउन यस्तो आवरण प्रयोग गरिन्छ।
हिन्जका अनुसार बरामद सामग्रीको संयोजनले हुथी विद्रोहीले इरानमा डिजाइन गरिएको त्यही विशिष्ट प्रकारको क्षेप्यास्त्र जोड्ने उद्देश्य राखेको स्पष्ट संकेत गर्छ। उनले भने, ‘यस प्रकारको प्रणाली तस्करी गरेर ल्याउन निकै कठिन हुन्छ। यसलाई सामान्य रूपमा खोलेर फेरि जोड्न पनि सकिँदैन।’
समयसँगै हुथी विद्रोहीका हतियार अत्याधुनिक बन्दै
हुथी विद्रोही समूह दुई दशकभन्दा अघि यमनमा विद्रोही शक्तिका रूपमा उदाएको थियो। त्यसबेला उसले यमन सरकारको सेनाबाट कब्जा गरिएका सोभियतकालीन तथा उत्तर कोरियाली हतियार प्रयोग गर्थ्यो।
तर समयसँगै समूहको अत्याधुनिक हतियारमा पहुँच विस्तार भएको छ। यससँगै छिमेकी मुलुकलाई सुरक्षा चुनौती दिन सक्ने क्षमता पनि बढेको छ।
साउदी अरेबियासँग जारी पछिल्लो केही साताको द्वन्द्वमा हुथी विद्रोहीले ब्यालिस्टिक क्षेप्यास्त्र प्रहार गर्नुका साथै दिशा परिवर्तन गर्न सक्ने वारहेड र लामो दूरीका ड्रोन प्रयोग गरेका छन्।
यसअघि पनि उनीहरूले इजरायललाई लक्षित गरी दर्जनौँ ड्रोन र क्षेप्यास्त्र प्रहार गरेका थिए। यमनबाट इजरायलको दूरी एक हजार माइल अर्थात् करिब एक हजार ६०० किलोमिटरभन्दा बढी छ।
इरानबाहिरबाट पनि हतियारका सामग्री जुटाउँदै
हुथी विद्रोहीका लागि इरान लामो समयदेखि हतियारसम्बन्धी डिजाइन र पार्ट्सको महत्त्वपूर्ण आपूर्तिकर्ता रहँदै आएको छ। तर तेहरानबाहिरबाट पनि सामग्री जुटाउनु समूहका लागि महत्त्वपूर्ण हुन सक्ने विश्लेषकहरूको भनाइ छ।
वासिङ्टनस्थित ‘फाउन्डेसन फर डिफेन्स अफ डेमोक्रेसीज’को इरान कार्यक्रमका वरिष्ठ निर्देशक बेहनाम बेन तालेब्लुले सैन्य योजनामा वैकल्पिक आपूर्ति स्रोत हुनु कमजोरी नभई सम्पत्ति भएको बताए।
उनले भने, ‘सैन्य योजनामा वैकल्पिक व्यवस्था हुनु कमजोरी होइन, सम्पत्ति हो। इरानमाथि नाकाबन्दी लागू भएको अवस्थामा हुथीहरूले आफ्ना आपूर्ति स्रोत विविधीकरण गरिरहेका छन्।’
हुथी विद्रोहीले लामो समयदेखि इरानबाट तस्करी गरी ल्याइएका हतियार र सामग्री प्राप्त गर्दै आएका थिए। तर पछिल्लो समय आपूर्तिको स्वरूप परिवर्तन भएको छ। अहिले पूर्ण रूपमा तयार हतियारभन्दा तिनका पार्ट्स र निर्माण सामग्री बढी पठाइने गरेको छ।
अमेरिकी थिंक ट्यांक ‘द सेन्टुरी फाउन्डेसन’ले यसै वर्ष सार्वजनिक गरेको अनुसन्धानअनुसार हुथीहरूको हतियार कार्यक्रमलाई पछिल्लो समय विश्वव्यापी आपूर्ति सञ्जालले थप सहयोग गरिरहेको छ। यसमा यमनभरिका विभिन्न कबिलासँग सम्बन्ध भएका तस्करदेखि पूर्वी चीनका निर्यात केन्द्रमा काम गर्ने व्यवसायीसम्म संलग्न रहेको उल्लेख छ।
यमनको अन्तर्राष्ट्रिय मान्यताप्राप्त सरकारसँग आबद्ध सुरक्षा निकायहरूले एडेन बन्दरगाहमा क्षेप्यास्त्रका पार्ट्स र प्रक्षेपण उपकरणसहितका खेप पटकपटक नियन्त्रणमा लिएका छन्। यमनको एडेन आतंकवादविरोधी इकाइका अनुसार यस्ता सामग्री बरामद हुँदै आएका छन्।
यमन मामिलाका विज्ञहरूका अनुसार निर्देशित क्षेप्यास्त्र निर्माणका लागि आवश्यक अत्याधुनिक सामग्री, विशेषगरी नेभिगेसन र नियन्त्रण प्रणालीमा हुथी विद्रोही अझै इरानमा निर्भर छन्। तर उनीहरूले आफ्नो नियन्त्रणमा रहेका क्षेत्रका भित्री भागमा हतियार निर्माण र संयोजन गर्ने क्षमता विस्तार गरेका छन्।
द सेन्टुरी फाउन्डेसनको प्रतिवेदनमा भनिएको छ, ‘समूहले क्षमताको यस्तो चरण पार गरेको छ, जहाँ आयात गरिएका पार्ट्स प्रयोग गरेर केही प्रकारका हतियार प्रणालीको ठूलो हिस्सा आफैँ निर्माण गर्न सक्छ।’
इजरायलको ‘इन्स्टिच्युट फर नेसनल सेक्युरिटी स्टडिज’का वरिष्ठ अनुसन्धानकर्ता येहोशुआ कालिस्कीका अनुसार हुथी विद्रोहीको आपूर्ति सञ्जाल ऐतिहासिक रूपमा हमास र हिजबुल्लाहजस्ता इरानसमर्थित अन्य सशस्त्र समूहको आपूर्ति प्रणालीसँग मिल्दोजुल्दो छ।
उनका अनुसार इरान ब्यालिस्टिक क्षेप्यास्त्र विकासमा विश्वकै उन्नत मुलुकमध्ये एक हो। गाजा र लेबनानमा पनि इरानसमर्थित सशस्त्र समूहले कच्चा पदार्थ तस्करी गरेर ल्याउने र अत्याधुनिक पार्ट्सका लागि इरानमा निर्भर रहने गरेका छन्। ती समूहले प्राप्त सामग्रीबाट आफ्नै क्षेत्रमा हतियार संयोजन गर्ने गरेका छन्।
चीनमाथि साउदी अरेबियाको दबाब बढ्न सक्ने
अमेरिकाको बेकर इन्स्टिच्युटका मध्यपूर्व मामिलाविज्ञ क्रिस्टियन उल्रिचसनले हुथी विद्रोहीको चिनियाँ पार्ट्समाथि बढ्दो निर्भरताले खाडी क्षेत्रको राजनीतिमा व्यापक प्रभाव पार्न सक्ने बताए।
उनले भने, ‘अहिले परिस्थिति निकै तनावपूर्ण बनेको छ र पूर्वाधार तथा विमानस्थलमा आक्रमणसमेत भएका छन्। यस्तो अवस्थामा हामीले साउदी अरेबियाबाट थप दबाब सिर्जना हुन सक्ने देख्न सक्छौँ।’
उनले चीन साउदी अरेबियाको सबैभन्दा ठूलो व्यापारिक साझेदार रहेको उल्लेख गर्दै हुथी विद्रोहीको हतियार आपूर्तिमा चिनियाँ सामग्रीको भूमिकाले बेइजिङमाथि कूटनीतिक दबाब बढाउन सक्ने संकेत गरे।
एजेन्सी