जनताको काममा अध्यक्ष क्षेत्रीको सक्रियताः सडक निर्माण ठेक्का आह्वान

449 Shares

प्यूठान । प्यूठानको बाग्दुला-मच्छि सडक खण्डमध्ये बतासेडाँडादेखि मच्छिसम्म कालोपत्रे गर्नका लागि झिमरुक गाउँपालिकाले ठेक्का आह्वान गरेको छ । 

गाउँपालिकाले बुधबार ९ करोड १० लाख रुपैयाँ बराबरको ठेक्का आह्वान गरेको गाउपालिका अध्यक्ष पीतबहादुर महतरा क्षेत्रीले जनाएका छन् । 

‘बाग्दुला मच्छि सडकखण्ड मध्ये झिमरुक गाउँपालिकाको क्षेत्राधिकारभित्र पर्ने बतासेडाँडादेखि मच्छिसम्मको सडक गाउँपालिकाले कालोपत्रे गर्ने गरी तिव्र रुपमा काम अगाडी बढिरहेको छ’, अध्यक्ष क्षेत्रीले भने,‘यो सडक पालिकाको मात्र नभई सिंगो प्यूठानको गौरवसँग जोडिएको योजना हो । हाम्रो कार्यकालभित्र जसरी पनि सडक कालोपत्रे गर्ने काम पुरा गर्छौ ।’ 

बाग्दुला भिमगिठे सडक लामो समयदेखि कच्ची हुँदा सर्वसाधारणलाई आवातजावतमस समस्या हुँदै आएको थियो । सर्वसाधारणले भोग्दै आएको समस्या समाधानका निम्ति गाउँपालिकाले काम थालेको अध्यक्ष क्षेत्रीको दाबी छ । नाली र फुटपाथ सहित दश मिटरको सडक कालापत्रे गरिने क्षेत्रीको भनाई छ । 

‘हामीले चुनावको प्रमुख एजेण्डामा पनि यो सडक कालोपत्रे गर्ने भनेर जनतासंग मत मागेका थियौं’,क्षेत्रीले भने,‘दैनिक सयौं गाडी ओहोरदोहोर गर्छन् । प्यूठानकै सवैभन्दा व्यस्तमध्येको सडक बाग्दुला मच्छि हो । कालोपत्रे सडकमा यात्रा गर्ने यस क्षेत्रका नागरिकहरुको सपना पुरा गरेरै छाड्छौं ।’

फेसबुकबाट तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार