एआईजी दाहाललाई बर्खास्त गर्ने निर्णय

10 Shares

काठमाडौं । गृह मन्त्रालयले सशस्त्र प्रहरी बलका एआईजी बंशीराज दाहाललाई बर्खास्त गर्ने निर्णय गरेको छ। 

गृह मन्त्रालयका प्रवक्ता आनन्द काफ्लेका अनुसार आचरणविपरीत कार्य गरेको भन्दै शुक्रबार गृह मन्त्रालयले एआईजी दाहाललाई बर्खास्त गर्ने निर्णय गरेको हो। आजैका मितिदेखि लागू हुने गरी उनलाई सेवाबाट हटाउने निर्णय गरेको हो। 

गृह मन्त्रालयले जारी गरेको सूचनामा भनिएको छ, ‘सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक श्री वंशीराज दाहालले आचरणसम्बन्धी कुरा बराबर उल्लंघन गरेको, बराबर अनुशासनहीन काम गरेको र नेपाल सरकार वा आफू कार्यरत संगठनको मान प्रतिष्ठा एवं छविमा आँच पुर्‍याउने कार्य गरेको कसुरमा मिति २०८३र६र२३ गतेबाट लागू हुने गरी सशस्त्र प्रहरी सेवाबाट हटाउने गरी विभागीय कारवाही गरिएको बेहोरा सम्बन्धित सबैमा जानकारी गराइन्छ।’

एआईजी दाहालविरुद्ध छानबिन गर्न गृह मन्त्रालयले सशस्त्र प्रहरीकै अर्का एआईजी अञ्जनी पोखरेललाई जिम्मा दिएको थियो। गृहले गत सोमबार एआईजी दाहाललाई निलम्बन गर्दै जाँचबुझ समितिलाई तीन दिनभित्र प्रतिवेदन बुझाउन भनेको थियो।

एआईजी दाहालले आचरणविपरितका गतिविधि गरेको निश्कर्षसहितको प्रतिवेदन बिहीबार साँझ एआईजी पोखरेलले गृह मन्त्रालयमा बुझाएका थिए। सोही प्रतिवेदनका आधारमा गृह मन्त्रालयले बर्खास्तको निर्णय गरेको हो। 

पुर्पक्षका लागि थुनामा रहेका व्यवसायी दीपक भट्टको मुद्दा मिलाइदिने भन्दै पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरासम्म सम्पर्क स्थापित गरेका बिचौलिया इनम सापकोटासँग एआईजी दाहालको पनि सम्पर्क देखिएको थियो। उनीहरूलाई सहयोग पुग्ने सूचना एआईजी दाहालले दिएको आरोप छ।

जाँचबुझ समितिले एआईजी दाहालसँग यस विषयमा बयान लिँदा इनमसँगको सम्पर्क व्यक्तिगत भएको बताएका थिए। एआईजी दाहाल र इनम सापकोटा दुवै झापाका हुन्। 

पूर्वप्रधानन्यायाधीश जबरालाई प्रहरीले नियन्त्रणमा लिएपछि असोज ११ गते प्रहरी कार्यालय पुगेर एआईजी दाहालले भेट गरेका थिए। उनले जबरालाई भेटेको र त्यसपछि सूचना बाहिरिएको गृह मन्त्रालयको दाबी छ। 

गृहमन्त्री सुधन गुरुङले आचरणविपरीत गतिविधि गर्ने कुनै पनि कर्मचारीलाई नछाडिने सामाजिक सञ्जालमार्फत पनि चेतावनी दिएका थिए। इनम अहिले पनि प्रहरी हिरासतमा छन्। भट्टलाई यही चेलखेको कारण भन्दै नक्खुबाट सिन्धुपाल्चोक कारागार सरुवा गरिएको छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार