धर्म प्रचारमा संलग्न आरोपमा दक्षिण कोरियाका २४ नागरिक पक्राउ

9 Shares

काठमाडौं । धर्म प्रचारमा संलग्न आरोपमा दक्षिण कोरियाका २४ नागरिक पक्राउ पक्राउ परेका छन् । १२ पुरुष र १२ महिला गरी २४ जना माथि पर्यटकीय भिसामा नेपाल आएर नियमविपरीत धर्म प्रचार गर्ने कार्यमा संलग्न रहेको आरोप छ ।  

प्रहरीले उनीहरूलाई शुक्रबार मोरङबाट पक्राउ गरेको हो। पक्राउ परेका सबैलाई प्रहरीले राति नै अध्यागमन विभाग पठाएको छ। 

उनीहरू मोरङको सुन्दरहरैँचा नगरपालिका–७ स्थित मालती मार्गमा रहेको नेपाल न्यू कोनेन्ट कलेज ९एनएनसिसी० मा आयोजित दीक्षान्त समारोह तथा धार्मिक कार्यक्रममा सहभागी भएका थिए। त्यसमा उनीहरूले धार्मिक क्रियाकलाप र धर्म प्रचार गरिरहेको सूचनाका आधारमा जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी कार्यालय मोरङको टोलीले पक्राउ गरेको हो।   

पर्यटकीय भिसामा नेपाल प्रवेश गरेर धार्मिक शिक्षा, तालिम र धर्म प्रचार जस्ता गैरकानुनी कार्यमा संलग्न पाइएपछि अध्यागमन नियमावली, २०५१ को नियम २० को उपनियम २ तथा विदेशी नागरिक अनुगमन निर्देशिका, २०७५ बमोजिम उनीहरूलाई कारबाही प्रक्रिया अगाडि बढाइएको जिल्ला प्रशासन कार्यालय, मोरङले जनाएको छ। 

मोरङ प्रहरीका अनुसार, नियन्त्रणमा लिइएका १२ पुरुष र १२ महिला गरी २४ जना कोरियाली नागरिकलाई काठमाडौँस्थित अध्यागमन विभागमा पठाइसकिएको छ।

पछिल्लो समय पर्यटक तथा भिजिट भिसामा नेपाल आएर उद्देश्यविपरीत धर्म प्रचार, गैरकानुनी व्यापार–व्यवसाय र अन्य गतिविधि गर्ने विदेशी नागरिकको क्रम बढेपछि सुरक्षा निकायले निगरानी र सुरक्षा जाँचमा कडाइ गरेको जिल्ला प्रहरी कार्यालय, मोरङ प्रमुख एसपी कवित कटुवालले जानकारी दिए। उनका अनुसार, सीमा क्षेत्रमा हुन सक्ने घुसपैठ तथा उद्देश्यविपरीत बसोबास गरिरहेका विदेशीको तथ्यांक संकलन गरी सुक्ष्म निगरानी सुरु गरिएको छ। 

यसअघि पनि काठमाडौँमा व्यापार गर्ने भनेर बिजनेस भिसा लिई विराटनगरमा नेपाली नागरिकको नाममा गैरकानुनी रूपमा व्यवसाय सञ्चालन गर्दै आएका दुई जना चिनियाँ नागरिकलाई समेत नियन्त्रणमा लिएर कारबाहीका लागि अध्यागमन पठाइएको थियो।

फेसबुकबाट तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार