बीमा कोष अपचलनः दीपक भट्टसहित १४ जना विरूद्ध ३ अर्ब ४६ करोडको मुद्दा

9 Shares

काठमाडौं । सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले हिमालयन रि–इन्स्योरेन्स कम्पनी लिमिटेडको बीमा कोष अपलचन र सम्पत्ति शुद्धीकरण गरेको अभियोगमा १४ जनालाई प्रतिवादी बनाएर मुद्दा दर्ता गरेको छ। 

बिहीबार जिल्ला अदालत काठमाडौँमा दर्ता भएको यो मुद्दामा १४ जना प्रतिवादीबाट ३ अर्ब ४६ करोड २४ लाख ३५ हजार ४४९ रुपैयाँ बिगो मागदाबी गरिएको छ। 

साथै, उनीहरूको बैंक खातामा रहेको रकम र उनीहरूको नाममा रहेको सम्पत्ति समेत जफतको माग अभियोगपत्रमा गरिएको छ।

त्यसमध्ये बीमा सम्बन्धी कसुरमा एक अर्ब ६९ करोड ८४ लाख ३५ हजार ४४९ रुपैयाँ बिगो दाबी गरिएको छ भने सम्पत्ति शुद्धीकरणतर्फ एक अर्ब ७६ करोड ४० लाख बिगो दाबी गरेर मुद्दा दर्ता भएको छ। 

विभागले विवादास्पद व्यवसायी दीपक भट्ट, हिमालयन रि–इन्स्योरेन्स कम्पनीका सञ्चालक समितिमा रहेका शेखर गोल्छा, अमित मोर, साहिल अग्रवाल, सुवासकुमार झुनझुनवाला, साक्षी वंशल गुप्ता, रोहित गुप्ता, राजीव मोर, शुभेच्छा खरेललाई यो मुद्दामा विपक्षी बनाइएको छ। 

त्यसैगरी, हिमालय रि–इन्स्योरेन्स लिमिटेडका तत्कालीन प्रमुख कार्यकारी अधिकृत उपासना पौडेल र चन्द्रशेखर राममूर्ति र तत्कालीन कार्यकारी निर्देशक मनिष कुमार बीमा कसुर गर्ने कार्यमा संलग्न रहेको विभागको दाबी छ।  

उनीहरूले हिमालयन रिइन्स्योरेन्सबाट एलिएन्ट इन्स्योरेन्स ब्रोकर्स प्रालिलाई पुनर्बीमा ब्रोकर कमिसनका नाममा ठूलो रकम भुक्तानी गरेको र सो रकम योजनाबद्ध रूपमा अन्य कारोबारमा प्रयोग गरिएको निष्कर्ष विभागको छ। 

हिमालयन रि–इन्स्योरेन्स लिमिटेडले एलिएन्ट इन्स्योरेन्स ब्रोकर्समार्फत जीवन बीमा कम्पनीहरूबाट व्यवसाय प्राप्त गरेको देखाएर २३ करोड ९२ लाख ५ हजार ६४ रुपैयाँ खर्च लेखेर अपचलन गरेको विभागको अनुसन्धानमा खुलेको छ। 

एलियन्ट इन्सुरेन्स ब्रोकर्सको सञ्चालक अध्यक्ष अञ्जना नेपाल बीमा कसुरमा प्रत्यक्ष संलग्न रही सम्पत्ति शुद्धीकरण समेत गरेको भन्दै उनीसँग बीमा कसुरमा २३ करोड ९२ लाख ५ हजार ६४ र सम्पत्ति शुद्धीकरणमा २१ करोड १५ लाख बिगो दाबी गरिएको छ। 

त्यसैगरी, एलियन्टकै सुधीरकुमार मल्लिक र आयुष्मा नेपाल भट्टले सम्पत्ति शुद्धीकरण गरेको भन्दै उनीहरूसँग जनही २१ करोड १५ लाख बिगो दाबी गरिएको छ।

मनोजकुमार अग्रवाल, सूर्यप्रसाद सिलवाल र फक्स ट्राभल्स एन्ड टुर्स प्रालिले जनही २ करोड ४० लाख रुपैयाँ सम्पत्ति शुद्धीकरण गरेको विभागको दाबी छ। फक्स ट्राभल्ससँग २ करोड ४० लाख सम्पत्ति शुद्धी करणको बिगो मागिएको छ। 

यस्तै, मृदुला सरियाले बीमकको रकम दुरुपयोग गरी आर्थिक हिनामिना गरेको र सम्पत्ति शुद्धीकरणमा संलग्न भएको भन्दै उनीसँग पनि ४५ करोड बिगो दाबी गरिएको छ।  

विभागका अनुसार हिमालयन रिइन्स्योरेन्सले एलिएन्ट इन्स्योरेन्स ब्रोकर्सलाई विभिन्न मितिमा पेस्कीस्वरुप २८ करोड रुपैयाँ भुक्तानी गरेको देखिएको छ। अनुसन्धानबाट उक्त रकममध्ये केही वास्तविक कारोबारसँग सम्बन्धित नभएको र आपसी मिलेमतोमा कृत्रिम वित्तीय कारोबार खडा गरी भुक्तानी गरिएको देखिएको विभागको अभियोगपत्रमा उल्लेख छ।

अनुसन्धान अनुसार बीमा कम्पनीबाट ब्रोकर कमिसनका रूपमा प्राप्त रकम विभिन्न माध्यमबाट अन्य व्यक्तिको खातामा पठाउने, कम्पनीको नाममा सम्पत्ति खरिद गर्ने तथा रकमको वास्तविक स्रोत लुकाउने कार्य भएको विभागको दाबी छ।

अभियोगपत्रमा दीपक भट्टले बीमा व्यवसायबाट प्राप्त रकमको दुरुपयोग गरी आफ्नो कम्पनी फक्स ट्राभल एन्ड टुर्स प्रालिका नाममा सवारीसाधन खरिद गर्न प्रयोग गरेको  समेत उल्लेख छ। विभागले त्यस्तो कारोबारलाई सम्पत्ति शुद्धीकरणको कसुरसँग जोडेको छ।

भट्टले बीमा कसुर गरेको भन्दै उनीसँग २३ करोड ९२ लाख ५ हजार ६४ रुपैयाँ बिगो माग दाबी गरिएको छ। 

त्यसैगरी, उनले सम्पत्ति शुद्धिकरण गरेको भन्दै २१ करोड १५ लाख रुपैयाँ बिगो मागदाबी गरिएको छ। बीमा सम्बन्धी कसुर र सम्पत्ति शुद्धीकरणसमेत गरेर भट्टसँग मात्रै ४५ करोड ७ लाख ५ हजार ६४ रुपैयाँ बिगो दाबी गरिएको छ। 

यसअघि सम्पत्ति शुद्धीकरण विभागले गत जेठ २९ मा उनै भट्टविरुद्ध विशेष अदालतमा सम्पत्ति शुद्धीकरण गरेको अभियोगमा मुद्दा दर्ता गरेको थियो। उनी वित्तीय घोटालामा संलग्न भई सम्पत्ति आर्जन र शुद्धीकरण गरेको अभियोगमा लगाइएको उक्त मुद्दामा विभागले उनीसँग २६ अर्ब ६३ करोड २७ लाख बिगो मागदाबी गरेको थियो। त्यसबाहेक, भट्टका विरूद्ध सेयर कारोबार र बैंकिङ कसुर गरेको अभियोगमा पनि अदालतमा मुद्दा दर्ता भएको छ। 

त्यसबेला भट्टसहित ३९ प्रतिवादीविरूद्ध सम्पत्ति शुद्धीकरण अभियोगमा मुद्दा दर्ता भएको थियो। भट्टले हिमालयन रि–इन्स्योरेन्स समेतका बीमकबाट रकम हिनामिना एवं आर्थिक दुरुपयोग गरी बीमा ऐनअन्तर्गतको कसुर गरेर नेपाल रिइन्सुरेन्सलगायतका कम्पनीको सेयर खरिदमा प्रयोग गरी गैरकानुनी स्रोतलाई शुद्धीकरण गर्न ३ अर्ब ८१ करोड ४६ लाख ४ हजार २३० रुपैयाँ १७ पैसा लगानी गरेको देखिएको अभियोगपत्रमा उल्लेख छ।

उनी अहिले थुनामा छन्। ललितपुरको नख्खु कारागारमा रहेका भट्टले पूर्वप्रधानन्याधीश चोलेन्द्र शमशेर जबरासँग पटकपटक सम्पर्क गरेको पत्ता लागेपछि उनलाई जेल सरुवा गरेर सिन्धुपाल्चोक पुर्‍याइएको छ। 

असोज २२ मा जिल्ला अदालत काठमाडौँमा दर्ता भएको मुद्दामा बीमा कम्पनीबाट प्राप्त रकमलाई लुकाउने तथा अन्य कारोबारमा प्रयोग गर्न सहयोग गरेको आरोपमा विभिन्न व्यक्ति तथा कम्पनी गरेर १४ जनालाई प्रतिवादी बनाइएको छ। 

अनुसन्धानका क्रममा प्राप्त कागजात, बैंकिङ कारोबार, लेखा अभिलेख तथा नियामक निकायबाट प्राप्त प्रतिवेदनका आधारमा बीमा व्यवसायको आवरणमा रकमको दुरुपयोग तथा स्रोत लुकाउने कार्य भएको विभागको निष्कर्ष छ।

 

फेसबुकबाट तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार