सरकारले गर्यो ७ निर्णय, के-के छ निर्णयमा ?

10 Shares

काठमाडौं । मन्त्रिपरिषद् बैठकले ७ वटा निर्णय गरेको छ । भदाविहीबार बसेको बैठकले यि निर्णय गरेको हो । जसमा प्रधानमन्त्री बालेन्द्र शाहको नेतृत्वमा नेपाली प्रतिनिधिमण्डलको अमेरिका भ्रमण स्वीकृत गर्यो । प्रधानमन्त्री संयुक्त राष्ट्रसंघको ८१औं महासभामा सहभागी हुन असोज ६ देखि १० गतेसम्म भ्रमणमा रहने छन् । 

यसैगरि, बैठकले भारतको नयाँ दिल्लीमा आयोजना हुने नेपाल–भारत अन्तरसरकारी उपसमिति (आईजीएससी) को बैठकमा सहभागी हुने नेपाली वार्ता टोली गठन गर्ने निर्णय पनि गरेको छ ।

त्यस्तै, अनुचित लेनदेन (मिटरब्याज) अपराध नियन्त्रणसम्बन्धी विधेयक तर्जुमा गर्न सैद्धान्तिक स्वीकृति दिने निर्णय भएको छ ।

मन्त्रिपरिषद्ले काठमाडौं, भक्तपुर, ललितपुर, सप्तरी र दाङका २७ स्थानीय तहका १७ हजार ४३८ गरिब घरपरिवारको सूची पनि स्वीकृत गरेको छ ।

बैठकले शिक्षक सेवा आयोगको अध्यक्षमा भक्तपुरका डा. हरिप्रसाद लम्साललाई नियुक्त गर्ने निर्णय गरेको छ । आयोगको सदस्यमा मकवानपुरका रामशरण सापकोटा तथा महिला सदस्यमा काठमाडौँकी विष्णु घिमिरे रिमाललाई नियुक्त गरिएको छ ।

यसैगरी, सहसचिव विनोदबहादुर कुँवरलाई राजपत्राङ्कित विशिष्ट श्रेणीको सचिव पदमा बढुवा गरी लुम्बिनी प्रदेशको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको प्रमुख सचिवमा पदस्थापन गर्ने निर्णय भएको छ ।

सहसचिव उत्तरकुमार खत्रीलाई पनि सचिव पदमा बढुवा गरी सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको प्रमुख सचिवमा पदस्थापन गर्ने निर्णय मन्त्रिपरिषद्ले गरेको छ ।

 

फेसबुकबाट तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार