काठमाडौं । जेनजी आन्दोलनका क्रममा कारागारबाट फरार भएका कर्तव्य ज्यान मुद्दाका अभियुक्त बाबु थापा भनिने मेघबहादुर थापा सर्लाहीबाट पक्राउ परेका छन्।
सर्लाही प्रहरीले उनलाई बागमती नगरपालिका–१ स्थित आफ्नै घरमा सुतिरहेको अवस्थामा पक्राउ गरेको हो।
थापाको साथबाट दुई थान पेस्तोल, तीन थान म्यागजिन र १५ राउन्ड गोली बरामद गरिएको प्रहरीले जनाएको छ।
सर्वोच्च अदालतका तत्कालीन न्यायाधीश रणबहादुर बमको हत्यामा दोषी ठहर भएका थापा गत वर्ष भदौ २४ गते भएको जेनजी आन्दोलनका क्रममा काठमाडौँको सुन्धारास्थित केन्द्रीय कारागारबाट फरार भएका थिए।
सर्लाहीका प्रहरी प्रमुख एसपी रविन्द्रनाथ पौडेलका अनुसार उनको साथबाट प्रहरीले ‘मेड इन युएसए’ लेखिएको एउटा पेस्तोल, नाम नखुलेको अर्को पेस्तोल, तीन थान म्यागजिन र १५ राउन्ड गोलीसमेत बरामद गरेको छ।
थापा तत्कालीन चुरेभावर राष्ट्रिय पार्टीका केन्द्रीय उपाध्यक्षसमेत भएका थिए।
कारागारबाट फरार भएपछि थापा नेपाल र भारतका विभिन्न स्थानमा लुकेर बस्दै आएको प्रहरीको भनाई छ। उनी घर फर्किन सक्ने आशंकामा प्रहरीले निगरानी बढाएको थियो।
कारागारबाट फरार भएपछि उनी भेष बदलेर नेपाल र भारतका विभिन्न स्थानमा बस्दै आएको खुलेको छ। उनी घर आएको सूचनापछि पुगेको प्रहरीले उनलाई पक्राउ गरेको एसपी पौडेलले बताए।
सर्वोच्च अदालतका तत्कालीन न्यायाधीश बमको २०६९ जेठ १८ गते ललितपुरको यूएन पार्क क्षेत्रमा गोली हानी हत्या भएको थियो।
सर्लाहीको उत्तरी क्षेत्रलाई आधारभूमि बनाएर ०६३ सालमा गठन भएको चुरेभावर राष्ट्रिय पार्टीभित्रको नेतृत्व विवाद र सर्वोच्च अदालतको अन्तरिम आदेशसँग हत्याको पृष्ठभूमि जोडिएपछि प्रहरीले थापामाथि अनुसन्धान अघि बढाएको थियो।
प्रहरी अनुसन्धानले न्यायाधीश बमको हत्यामा उनकै संलग्नता खुलेको थियो। प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो ९सीआईबी०को टोलीले घटनाको २ वर्ष ७ महिनापछि २०७१ पुसमा थापालाई चितवनबाट पक्राउ गरेको थियो।
०६४ सालमा भएको पहिलो संविधान सभा निर्वाचनमा थापा धनुषा क्षेत्र नम्बर ७ बाट उम्मेदवार बनेर पराजित भएका थिए।
उक्त चुनावमा समानुपातिक तर्फबाट केशव मैनाली संविधान सभा सदस्य बनेपछि चुरेभावर पार्टी विभाजित भएको थियो।
पार्टीको आधिकारिकता सम्बन्धी विवाद निर्वाचन आयोगमा पुगेपछि आयोगले मैनालीको सट्टा बाबु थापा नेतृत्वको समूहलाई वैधानिकता दिएको थियो।
त्यस निर्णयविरुद्ध मैनालीले सर्वोच्च अदालतमा मुद्दा दायर गरेका थिए।
उक्त मुद्दामा न्यायाधीश बमको एकल इजलासले थापा नेतृत्वको समूहलाई वैधानिकता दिने निर्वाचन आयोगको निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश जारी गरेको थियो।