सांसद सुनारलाई रास्वपाले अझै  गरेन कारबाही

8 Shares

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद खगेन्द्र सुनारमाथि पार्टी अझै कारबाही गरेको छैन । उनीमाथि अनुशासन आयोगले छानबिन भने सुरु गरेको छ ।

रास्वपाका प्रमुख सचेतक कवीन्द्र बुर्लाकोटीले सुनारमाथि लागेका आरोपबारे पार्टीको अनुशासन आयोगले अध्ययन तथा अनुसन्धान सुरु गरेको जानकारी दिएका हुन् ।

मंगलबार सञ्चारकर्मीसँग कुरा गर्दै बुर्लाकोटीले पार्टीको संयन्त्रमा छलफल भएपछि विषयलाई अनुशासन आयोगमा पठाइएको बताए । अनुसन्धान पूरा नहुँदासम्म सुनारलाई औपचारिक कार्यक्रमहरूमा सहभागी नहुन निर्देशन दिइएको उनले जानकारी दिए ।

उनले भने, ‘अनुशासन आयोगले आवश्यक अध्ययन गर्ने, अनुसन्धान गर्ने कुराहरू गर्छ । र, त्यो बेलासम्म, यो अनुसन्धानलाई टुङ्गोमा नपुर्‍याउँदासम्म यो पदीय र पार्टीको अनुशासनभित्रै रहने गरी खगेन्द्र सुनारज्यूलाई पदीय हिसाबमा कुनै पनि कार्यक्रमहरूमा सहभागी नहुन, औपचारिक कार्यक्रमहरूमा सहभागी नहुन निर्देशन पनि जारी गरिसक्या छ ।’


बुर्लाकोटीले छानबिन लामो समय नलम्बिने विश्वास व्यक्त गर्दै अनुसन्धानबाट सत्यतथ्य बाहिर आउने बताए । यद्यपि, अनुसन्धानको विषय कति गहिरो छ भन्ने आधारमा समय लाग्न सक्ने उनको भनाइ छ ।

‘कति गहिरो छ या सतही मात्रै छ भन्ने कुरा अनुसन्धान गर्दै गएपछि थाहा हुन्छ । यसको मैले यस्तो कुरामा मिति नै तोक्न सक्दिनँ,’ उनले भने ।

सुनारसँग सम्बन्धित विषयमा सार्वजनिक भएका सामग्रीको सत्यता जाँच गर्नुपर्ने आवश्यकता रहेको बुर्लाकोटीले बताए । सार्वजनिक भएका भिडिओ तथा अडियो वास्तविक हुन् वा नक्कली भन्ने विषयसमेत अनुसन्धानबाट स्पष्ट हुने उनको भनाइ छ ।

उनले भने,‘जे छानबिन हुनुपर्ने हो, सही छ, गलत छ या केही समस्या छ, समस्या छैन या बाहिर अफवाह मात्रै हो, या त्यो भिडिओ, अडियो नक्कली हो या के हो, सत्य हो, जे चिज छ, त्यसको अनुसन्धानमा त जानैपर्‍यो,’ उनले भने, ‘हामीले नै हेर्नेबित्तिकै थाहा पाउने भए अनुसन्धान नै गर्नु परेन । हाम्रो अनुसन्धान गर्ने निकायले नभन्दासम्म हामी प्रतीक्षा गर्छौँ ।’

उनले यो विषय संसदीय गतिविधिभन्दा पार्टीको आन्तरिक अनुशासनसँग सम्बन्धित भएकाले पार्टीको संयन्त्र सक्रिय बनाइएको स्पष्ट पारे । संसदीय गतिविधिको विषयमा संसदीय दल सक्रिय हुने भए पनि पार्टीगत विषयमा पार्टीले नै आवश्यक प्रक्रिया अघि बढाउने उनको भनाइ छ ।

यसअघि कृष्णकुमार कार्कीको विषयमा पार्टीले जानकारी लिएपछि कारबाही गर्नुपर्ने अवस्था नदेखिएको उनले बताए । तर, सुनारको विषयमा केही प्रमाणसहित सामग्री सार्वजनिक भएकाले त्यसको सत्यता जाँच गर्नुपर्ने अवस्था आएको उनको भनाइ छ ।

उनले अनुसन्धानबाट सुनार दोषी देखिए कारबाही हुने स्पष्ट पारे । गल्ती नभएको पुष्टि भएमा भने कारबाही नहुने उनको भनाइ छ ।

‘गल्ती छैन भने केही पनि हुँदैन, गल्ती छ भने कारबाही हुन्छ । अहिले भन्ने यत्ति नै हो,’ बुर्लाकोटीले भने ।

 

फेसबुकबाट तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार