बुढीगण्डकी बाढी अपडेट : कहाँ कति भयो क्षति ?

38 Shares

काठमाडौं । गोरखाको उत्तरी क्षेत्रमा हिमपहिरोपछि आएको भीषण बाढीले बुढीगण्डकी नदी आसपासका बस्तीमा ठूलो क्षति पुर्‍याएको छ ।

बाढीले झोलुङ्गे पुल, मोटरेबल पुल, घर तथा निर्माणाधीन जलविद्युत् आयोजनामा क्षति पुर्‍याएको छ । बाढीमा फसेका १८ जना नेपाली नागरिकको सुरक्षित उद्धार गरिएको छ । 

आज विहान साढे ५ बजे गोरखाको चुमनुब्री गाउँपालिका–६ अन्तर्गत लोक्पा र चुम्लिङको बीचमा रहेको सिरिङ्गे हिमालमा हिमपहिरो गएको थियो । हिमपहिरोका कारण स्थानीय उइनगुलुङ खोला थुनिएपछि बुढीगण्डकी नदीमा ठूलो बाढी आएको हो । 

बाढीको सूचना प्राप्त हुनासाथ प्रहरी चौकी सिर्दिबास र प्रहरी चौकी चुनचेतबाट प्रहरी टोली परिचालन गरिएको थियो । नदी तटीय क्षेत्रका प्रहरी युनिट तथा स्थानीय बासिन्दालाई सतर्क गराइएको थियो । बिहान ६ः१५ बजेदेखि थुनिएको स्थानबाट पानी बग्न थालेपछि नदीमा ठूलो बाढी आएको थियो । नदी तटीय क्षेत्रका बासिन्दालाई सुरक्षित स्थानमा सार्न इलाका प्रहरी कार्यालय आरुघाटबाट प्रहरी निरीक्षक अनिल श्रेष्ठको कमान्डमा २५ जनाको प्रहरी टोली परिचालन गरिएको थियो । 

बाढीले विभिन्न स्थानमा क्षति बाढीले चुमनुब्री गाउँपालिका–३ स्थित न्याकचेतदेखि सिर्दिबास जोड्ने पुरानो झोलुङ्गे पुल बगाएको छ । सिर्दिबासमा स्थानीय रामबहादुर गुरुङको एउटा कच्ची घर बगाएको छ भने अर्को घरमा बाढी पसेको छ । 

त्यसैगरी, धार्चे गाउँपालिका–५ को माछिखोलाबाट केरौजा जोड्ने झोलुङ्गे पुल पनि बाढीले बगाएको छ । माछिखोलाको तल्लो बस्तीका पाँचदेखि सातवटा घर र त्यति नै संख्यामा रहेका टहरामा बाढी पसेको छ । 

चुमनुब्री गाउँपालिका–३ को सल्लेरीमा २० देखि २२ वटा घर जोखिममा परेका छन् । सोही गाउँपालिकाको सल्लेरीस्थित निर्माणाधीन सहज ऊर्जा पावर हाउस र आसपासका सातदेखि आठवटा घर बाढीले बगाएको छ । 

बाढीले आरुघाट गाउँपालिका–२ र ३ जोड्ने सोतीस्थित फलामे मोटरेबल पक्की पुलसमेत बगाएको छ । बाढीबाट भएको क्षतिको थप विवरण संकलन तथा प्रभावित क्षेत्रका बासिन्दाको सुरक्षाका लागि प्रहरी परिचालन गरिएको छ । 

फेसबुकबाट तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार