काठमाडौं । पहिरो तथा बाढीका कारण देशका विभिन्न स्थानमा मुख्य राजमार्ग अवरुद्ध भएका छन् ।
नेपाल प्रहरीले सार्वजनिक गरेको विवरणअनुसार काठमाडौँ उपत्यकासहित बागमती, लुम्बिनी र कर्णाली प्रदेशका विभिन्न सडकखण्ड प्रभावित छन्।
काठमाडौंको चन्द्रागिरि नगरपालिका–२ विसापानीमा पहिरो खसेपछि काठमाडौँ–धादिङ सडकखण्ड एकतर्फी सञ्चालनमा रहेको छ।
बागमती प्रदेशअन्तर्गत काभ्रेको खुर्कोट–नेपालथोक–कटुञ्जेबेँसी सडकखण्डमा बाढीको सम्भावना रहेकाले १० टनसम्मका मालवाहक सवारीसाधन साँझ ७ बजेदेखि बिहान ४ बजेसम्म सञ्चालनमा रोक लगाइएको छ। बिहान ८ बजेदेखि साँझ ७ बजेसम्म भने परिस्थितिको विचार गरी सवारी सञ्चालन गर्न सकिने जनाइएको छ।
रसुवामा त्रिशूली मेलुङ–स्याफ्रुबेँसी सडकखण्डको उत्तरगया गाउँपालिका–५ खाल्टेमा बाढीका कारण सडक पूर्ण रूपमा अवरुद्ध छ। जिल्लाकै मुख्य राजमार्गसमेत पूर्ण रूपमा अवरुद्ध रहेको प्रहरीले जनाएको छ।
नुवाकोटको शिवपुरी गाउँपालिका–७ घट्टेखोलामा पहिरो तथा बाढीका कारण टोखा–छहरे सडकखण्ड अवरुद्ध छ। त्यस्तै, बेलकोटगढी नगरपालिका–१० सिमटारमा बाढीका कारण पासाङ ल्हामु सडकखण्ड पूर्ण रूपमा अवरुद्ध भएको छ।
धादिङमा पृथ्वीलोकमार्गअन्तर्गत बेनीघाट रोराङ गाउँपालिका–७ कृष्णभीरमा पहिरोका कारण सडक पूर्ण रूपमा अवरुद्ध छ। बेनीघाट रोराङ–१० ज्वालामुखोलामा भने सडक एकतर्फी सञ्चालनमा छ। गजुरी गाउँपालिका–२ चालिसेमा पनि पृथ्वीलोकमार्ग एकतर्फी सञ्चालनमा रहेको प्रहरीले जनाएको छ। धादिङ थाक्रे गाउँपालिका–२ कुमेशीभीरमा पनि पहिरोका कारण सडक पूर्ण रूपमा अवरुद्ध छ।
चितवनको बेनीघाट रोराङ गाउँपालिका–१० ज्वालामुखोलामा सडक मर्मतका कारण पृथ्वीलोकमार्ग एकतर्फी सञ्चालनमा छ।
लुम्बिनी प्रदेशको रोल्पामा परिवर्तन गाउँपालिका–३ भालुवोरमा पहिरोका कारण सहिद राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएको छ।
कर्णाली प्रदेशको मुगुमा छायाँनाथ रारा नगरपालिका–४ ताल्चामा पहिरोका कारण मुगु–नाग्मा सडकखण्ड पूर्ण रूपमा अवरुद्ध छ।
सुर्खेतको बराहताल गाउँपालिका–७ ओइल्सेमा पहिरोका कारण कर्णाली राजमार्ग एकतर्फी सञ्चालनमा रहेको छ। दैलेखको दुल्लु नगरपालिका–१ भत्कुको खोलामा पहिरोका कारण कर्णाली राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएको प्रहरीले जनाएको छ ।