संयुक्त राष्ट्रसंघीय महासभामा बालेनले कहिले के गर्ने छन् ?

10 Shares

काठमाडौं । संयुक्त राष्ट्रसंघीय महासभाको ८१औं शत्रमा प्रधानमन्त्री बालेन्द्र शाहले केही मुलुकका राष्ट्राध्यक्षभन्दा अगाडि सम्बोधन गर्ने अवसर प्राप्त गरेका छन् । महासभा असोज ४ देखि सुरु हुदैछ ।

८ असोजमा महासभाको अपरान्हकालीन सेसनमा नेपालको तर्फबाट सम्बोधन गर्ने प्रधानमन्त्री शाहपछि दुईजना राष्ट्राध्यक्ष तहका नेताले सम्बोधन गर्ने कार्यतालिका संयुक्त राष्ट्रसंघले बनाएको छ । 

अक्सर राष्ट्राध्यक्षपछि मात्र सरकार प्रमुख ९प्रधानमन्त्री० को बोल्ने पालो आउने भएपनि महासभाको सन्ध्याकालीन सेसन चयन र नेपाललाई प्राप्त सहज लविङको अवसरका कारण अपेक्षाकृत सहज ढंगले प्रधानमन्त्री शाहका लागि अलिक छिट्टै सम्बोधनको अवसर प्राप्त भएको हो । 

महासभामा सम्बोधन गर्ने विश्व नेताहरुको सूची यसअघि दुईपटक तयार गरिसकेको राष्ट्रसंघले तेस्रो सूची शुक्रबार (१९ भदौ )मा तयार गर्दै त्यसमा प्रधानमन्त्री शाहको नाम त्यसमा समावेश गरेको छ, जसमा प्रधानमन्त्री शाहको बोल्ने पालो १०७औं नम्बरमा परेको छ । 

प्राप्त सूचीअनुसार प्रधानमन्त्री शाहभन्दा अघि २२ सेप्टेम्बरमा ३२, २३ सेप्टेम्बरमा ३८ र त्यसैदिन २४ सेप्टेम्बर मा ३६ गरी १०६ जना नेताहरुले राष्ट्रसंघीय महासभालाई सम्बोधन गरिसकेका हुनेछन् । 

यसपटकको महासभामा संयुक्त राष्ट्रसंघका सदस्य राष्ट्र र संस्थाका प्रतिनिधि गरी १९५ जनाले सम्बोधन गर्ने कार्यतालिका छ । 

राष्ट्रसंघीय महासभामा भाग लिने प्रधानमन्त्रीको निर्णयसँगै परराष्ट्र मन्त्रालय र न्यूयोर्कस्थित संयुक्त राष्ट्रसंघको नेपाली नियोगले सम्बोधनको समयका लागि बिहीबार १८ भदौ देखि पहल सुरु गरेका थिए । 

त्यसको सुखद् परिणाम आउने क्रममा प्रधानमन्त्री शाहले स्थानीय समयअनुसार २४ सेप्टेम्बर (८ असोज) को साँझ करिब ८ बजेपछि सम्बोधनको समय प्राप्त गरेका छन् । 

त्यसदिन प्रधानमन्त्री शाहभन्दा अघि युरोपेली मुलुक आयरल्याण्ड (संयुक्त अधिराज्य) का प्रधानमन्त्री मिचेल मार्टिन (६६ वर्ष) र अर्को युरोपेली मुलुक मोल्दोभाका प्रधानमन्त्री भासिल तोफान (४४ वर्ष) ले सम्बोधन गर्नेछन् । 

मर्यादाक्रममा सरकार प्रमुख (प्रधानमन्त्री) भन्दा राष्ट्राध्यक्ष (राष्ट्रपति, राजा, युवराज) अगाडि हुने भएकाले राष्ट्रसंघले सम्बोधनको सूचीमा प्रधानमन्त्रीभन्दा राष्ट्राध्यक्षलाई अगाडि राख्ने गर्छ । 

तर, प्रधानमन्त्री शाहलाई भने दुई मुलुकका राष्ट्रपतिभन्दा अगाडि बोल्ने अवसर प्राप्त भएको छ । अफ्रिकी मुलुक किरिबाटीका राष्ट्रपति तानेटी मामाउ र फिजीका राष्ट्रपति नाकामा लालाबालाभुले प्रधानमन्त्री शाहभन्दा पछि सम्बोधन गर्नेछन् ।

किरिबाटीका राष्ट्रपति मामाउ र फिजीका राष्ट्रपति लालाबालाभुलका लागि भोलिपल्ट अर्थात् २५ सेप्टेम्बर (९ असोज) बिहानको समय उपलब्ध गराइएको छ । 

साँझको सेसन चयन र यसअघि नेपाल संयुक्त राष्ट्रसंघअन्तर्गतको एक महत्वपूर्ण निकाय संयुक्त राष्ट्रसंघ आर्थिक तथा सामाजिक परिषद् (इकोसोक) को नेतृत्वमा रहेकाले प्रधानमन्त्री शाहका लागि अपेक्षाकृत सहज रुपमा सम्बोधनको समय प्राप्त भएको हो । 

जानकारीअनुसार संयुक्त राष्ट्रसंघको महासभामा सम्बोधनका लागि विश्व नेताहरुले अक्सर बिहानी सेसनको चयन गर्छन्, जुन स्थानीय समयअनुसार बिहान ९ देखि अपरान्ह पौने ३ बजेसम्मका लागि तय हुन्छ । 

दोस्रो सेसन अपरान्ह ३ बजेदेखि ९ बजेसम्म सञ्चालन हुन्छ । र, अक्सर अपरान्हको सेसनमा आफ्नो सहभागिताबारे ढिलो नाम टिपाएका वा हतारमा रहेका राष्ट्राध्यक्ष, सरकार प्रमुखहरु सहभागी रहन्छन् । 

‘हाम्रो तर्फबाट सरकार प्रमुख स्तरमा सहभागिता रहने कुरा निकै ढिलो गरी निर्णय भयो, त्यसैले सम्बोधनका लागि अपरान्ह्रकै समय भएपनि छनोट गर्नुपर्ने स्थिति थियो,’ परराष्ट्र मन्त्रालयका एक अधिकारीले भने, ‘अपरान्हको सेसन भएपनि अपेक्षा गरेभन्दा अलिक चाँडै सम्बोधनको समय प्राप्त हुनु सकारात्मक कुरा हो ।’

जानकार स्रोतका भनाइमा संयुक्त राष्ट्रसंघ आर्थिक तथा सामाजिक परिषद् (इकोसोक) को सभापति यसअघि नेपाली नियोग प्रमुख लोकबहादुर थापा भएकाले उनको चिनजान र सम्पर्कले पनि अलिक छिटो सम्बोधनको समय मिलाउन सहज भएको हो । 

प्रधानमन्त्री शाहले राष्ट्रसंघीय महासभामा जाने निर्णय बिहीबार (१८ भदौ) मा मात्र गरेका थिए । लगत्तै परराष्ट्र मन्त्रालयलाई न्यूयोर्क भ्रमणसम्बन्धी तयारी गर्न निर्देशन दिइएको थियो । 

यता ढिलो निर्णय भएपनि उता संयुक्त राष्ट्रसंघले महासभामा सम्बोधन गर्ने विश्व नेताहरुको तेस्रो सूची प्रकाशित गरिनसकेकाले अन्तिम समयमा प्रधानमन्त्री शाहको नाम थप्ने अवसर प्राप्त भएको थियो । 

‘उता संयुक्त राष्ट्रसंघ तेस्रो सूची निकाल्ने अन्तिम तयारीमा थियो, त्यसैबेला नेपालबाट प्रधानमन्त्री नै उपस्थित हुने निर्णय भयो,’ स्रोतले भन्यो, ‘केही घण्टामात्र यससम्बन्धी निर्णय ढिलो र उता खबर पुग्न पनि बिलम्ब हुँदो हो त, यति चाँडै सम्बोधनको समय मिलाउन कठिन हुन्थ्यो ।’

८ असोजको अपरान्हकालीन सेसनमा प्रधानमन्त्री शाहभन्दा केही अघि राष्ट्राध्यक्ष तहका तीन नेताले सम्बोधन गर्ने कार्यतालिका छ । तिनमा उरुग्वे, सेनेगल र भेनेजुएलाका राष्ट्रपति छन् । यी तीजना राष्ट्रपतिपछि कोटे डि भोरीका उपराष्ट्रपति र कुवेतका युवराजले सम्बोधन गर्नेछन् । 

प्रधानमन्त्रीभन्दा मर्यादाक्रममा माथि रहने राष्ट्रपति–उपराष्ट्रपति र युवराजको सम्बोधनपछि क्रमैसँग बार्बडोस, आर्मेनिया, थाइल्याण्ड, पोर्चुगल, जर्जिया, नेदरल्याण्डस्, स्लोभेनिया, एण्डोरा र आयरल्याण्डका सरकार प्रमुखले सम्बोधन गर्नेछन् । 

त्यसपछि प्रधानमन्त्री शाह र शाहपछि मोल्दोभाका प्रधानमन्त्रीले सम्बोधन गर्नेछन् । त्यसपछि त्यसदिन सेसन समाप्त हुनेछ । 

नेपालको सीमा जोडिएका दुई छिमेकीमध्ये यसपटकको महासभामा चीनको तर्फबाट उपराष्ट्रपति र भारतको तर्फबाट परराष्ट्रमन्त्री एस जयशंकरले सम्बोधन गर्नेछन् । यसमध्ये चिनियाँ उपराष्ट्रपति हान चेङले २६ सेप्टेम्बर (१०  असोज) मा बिहानीको सेसनको सुरुवात ९९ बजे० मै र भारतीय विदेशमन्त्री जयशंकरले अपरान्हको सेसनमा सम्बोधन गर्नेछन् । 

राष्ट्रसंघीय महासभामा सम्बोधन गर्ने समय तय भएसँगै प्रधानमन्त्री शाह ५ असोज (२१ सेप्टेम्बर) मा न्यूयोर्कका लागि प्रस्थान गर्ने गरी भ्रमणको तयारी सुरु भएको छ । 

प्रधानमन्त्रीको सम्बोधन २४ भदौमा हुने भएपनि २१ सेप्टेम्बरमा प्रस्थान गर्दा अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले आयोजना गर्ने रात्रिभोजमा सरिक हुन सकिने भएकाले अलिक अगाडि नै जाने तयारी गरिएको हो ।

‘आयोजक राष्ट्र (होष्ट कन्ट्री) को हैसियतमा अमेरिकी राष्ट्रपतिले विश्वका नेताहरुको स्वागतमा रात्रिभोज आयोजना गर्ने प्रचलन छ,’ परराष्ट्र मन्त्रालयका एक अधिकारीले भने, ‘विश्वका धेरै नेताहरुसँग भेटको अवसर प्राप्त हुने भएकाले र त्यहाँ धेरै जनासँग अनौपचारिक तबरमा नेपालको सरोकार सुनाउन सकिने भएकाले रात्रिभोज भ्याउने गरी न्यूयोर्क प्रस्थान गर्ने योजना बन्दै छ ।’  

तर, राष्ट्रपति ट्रम्पले २२ सेप्टेम्बर (६ असोज) मै रात्रिभोज आयोजना गर्छन् वा २३ सेप्टेम्बरमा– त्यो अझै यकिन भइसकेको छैन । त्यसैले, यताबाट प्रस्थान गर्ने ठ्याक्कै मिति तय पनि भइसकेको छैन । 

महासभा उद्घाटनकै दिन (२२ सेप्टेम्बर) रात्रिभोज आयोजना हुने भएमा प्रधानमन्त्री शाह २१ सेप्टेम्बर र २३ सेप्टेम्बरका लागि आयोजना गरेमा २२ सेप्टेम्बरका दिन प्रस्थान गर्नसक्ने पनि हुनसक्छ । 

‘महासभा सुरु हुन धेरै दिन बाँकी नरहेकाले टिकट उपलब्धता कठिन हुनसक्छ, त्यसैले २१ सेप्टेम्बरकै दिन प्रस्थान गर्ने सम्भावना ज्यादा देखिन्छ,’ स्रोतले भन्यो, ‘त्यसो हुँदा सम्बोधन अघि बाँकी रहने एक दिन अन्य विदेशी नेताहरुसँग भेट गर्ने र विश्राम लिने समयपनि रहन्छ ।’

यसअघि राष्ट्रसंघीय महासभामा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व परराष्ट्रमन्त्री शिशिर खनालले गर्ने तय भएको थियो । ३ भदौमा मन्त्रिपरिषद्ल‍े यससम्बन्धी निर्णय गरिसकेको पनि थियो । 

तर, १० भदौको भोटेकोशी बाढीपछि जलवायु परिवर्तनले नेपाललाई पारेको असरका विषयमा क्षतिपूर्तिका लागि नेपालको आवाज संयुक्त राष्ट्रसंघजस्तो विश्वमञ्चमा प्रधानमन्त्रीकै स्तरमा उठाउनुपर्ने आवाज उठ्न थाल्यो । त्यसपछि प्रधानमन्त्री शाह आफै राष्ट्रसंघीय महासभामा जाने निर्णयमा पुगे र बिहीबार (१८ भदौ) देखि नेपालले प्रधानमन्त्रीको भ्रमणको तयारी सुरु गर्‍यो । 

निकै ढिलो गरी निर्णय भएकाले प्रधानमन्त्री शाहले महासभामा चाँडै सम्बोधनको अवसर पाऊलान् वा नपाऊलान् भन्ने संशय थियो । अन्तिमतिर मात्र समय उपलब्ध भएमा सम्बोधन हुने दिन न्यूयोर्क पुग्ने र सम्बोधन सकिनासाथ स्वदेश फर्किहाल्ने योजना बनाइएको थियो । 

तर, अपेक्षा गरेभन्दा अलिक अगावै सम्बोधनको समय उपलब्ध भएपछि पहिलेको योजनामा थोरै संशोधन गर्ने योजना प्रधानमन्त्रीको सचिवालयले बनाएको छ । 

‘सम्बोधनको समय अलिक ढिलो उपलब्ध हुँदा किन महासभा उद्घाटनकै दिन पुग्ने भन्ने थियो, तर महासभा उद्घाटनको दुई दिनपछि नै सम्बोधनको समय उपलब्ध भएकाले उद्घाटन नै भ्याउने गरी जाने योजना बनेको छ,’ प्रधानमन्त्री निकट स्रोतले भन्यो, ‘अमेरिकी राष्ट्रपतिले आयोजना गर्ने रात्रिभोजमा सहभागी हुने अन्य राष्ट्रप्रमुख, सरकार प्रमुखहरुसँग अनौपचारिक तबरमा नेपालले बेहोरिरहेको समस्याका विषयमा कुरा राख्ने अवसर मिल्ने निक्र्योलका साथ अलिक अघि प्रस्थान गर्ने योजना बनेको हो ।’ 

स्रोतका भनाइमा उद्घाटनकै दिन न्यूयोर्क पुगेपनि प्रधानमन्त्री शाह उद्घाटन लगत्तै भोलिपल्टै स्वदेश फर्कन न्यूयोर्कबाट प्रस्थान गर्नेछन् ।

 

फेसबुकबाट तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार