काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्राकृतिक विपद् तथा संकटको घडीमा कर्मचारीतन्त्रलाई त्रसित बनाएर नभई उत्प्रेरित र जिम्मेवार बनाएर परिचालन गर्नुपर्ने बताएका छन् ।
शनिबार राजधानीमा २३ औं निजामती सेवा दिवसको अवसरमा चन्द्रलोक प्रतिष्ठानद्वारा आयोजित ‘निजामती सेवा सम्मान–२०८३’ कार्यक्रमलाई सम्बोधन गर्दै प्रचण्डले यस्तो बताएका हुन् । उनले राज्यका निकाय र कर्मचारीतन्त्र अन्योलमा परेको टिप्पणी समेत गरे ।
कर्मचारीतन्त्रलाई अनुशासित र जिम्मेवार बनाउन त्रासको वातावरण सिर्जना गर्न नहुने भन्दै उनले करबलले गराइएको काम प्रभावकारी नहुने स्पष्ट पारे ।
‘कर्मचारीलाई जिम्मेवार बनाउने दुई तरिका हुन्छन्- एउटा असल कर्म र नीतिद्वारा उत्प्रेरित गर्ने, अर्को तर्साएर बाध्य पार्ने। करबल र त्रास देखाएर गराइएको काम प्रभावकारी हुन सक्दैन। अहिले राज्यका निकाय अन्योलमा छन्,’ उनले भने ।
सरकारले राम्रो काम गरे सहयोग र नराम्रो काम गरे खबरदारी गर्ने नीति रहेको स्मरण गराउँदै प्रचण्डले अहिलेका लक्षणहरू सकारात्मक नदेखिएको दाबी गरे । उनले देशको सार्वभौमसत्ता, राष्ट्रिय अखण्डता र लामो संघर्षबाट प्राप्त लोकतन्त्रको रक्षाका लागि सबै सचेत नागरिक र राजनीतिक नेतृत्व एकजुट हुनुपर्नेमा जोड दिए ।
हालैको बाढी–पहिरोको वितण्डा र उद्धार कार्यको समीक्षा गर्दै अध्यक्ष प्रचण्डले १० दिनपछि सुरुङ ९टनेल० बाट दुई जनाको सकुशल उद्धार हुनु सन्तोषजनक भए पनि समयमै प्रभावकारी कदम चाल्न नसक्दा ठूलो मानवीय क्षति भएको बताए ।
‘१० दिनपछि टनेलबाट दुई जनाको सकुशल उद्धार हुनु सन्तोषको कुरा हो। तर, समयमै उद्धार कार्य तीव्र बनाएको भए अझ धेरैको ज्यान बाँच्ने रहेछ। विपद् व्यवस्थापनमा सरकार अझ बढी जिम्मेवार हुनुपर्छ,’ उनले भने ।
विगत २३ वर्षदेखि सरकारले नै निजामती सेवा दिवसमा उत्कृष्ट कर्मचारीहरूलाई पुरस्कृत गर्दै आएको परम्परा स्मरण गर्दै प्रचण्डले विपद्को बहानामा कार्यक्रम नै स्थगन गर्नु गलत भएको बताए । केही दिन सारेर भए पनि कर्मचारीलाई पुरस्कृत गरी मनोबल बढाउनुपर्ने उनको भनाइ थियो ।