प्रधानमन्त्री शाहले दिए सरकार निर्मम हुने चेतावनी

9 Shares

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले विपद्को पीडामा रहेका नागरिकमाथि अनावश्यक टिप्पणी गर्ने, हियाउने र थप पीडा दिन खोज्नेहरूलाई ‘अपराधी’ को संज्ञा दिँदै त्यस्ता व्यक्तिमाथि सरकार निर्मम हुने चेतावनी दिएका छन् । उनले बाढीपीडित नागरिकको पीडामाथि अनावश्यक टिप्पणी गर्ने, हियाउने तथा थप पीडा दिनेहरूलाई सरकारले नछाड्ने चेतावनी दिएका हुन्।

बाढीपीडित ज्येष्ठ नागरिकलाई सम्बोधन गर्दै उनले विपद्मा धेरै आमाबुबाले छोराछोरी र नातिनातिना गुमाएको, जीवनभरको जायजेथा तथा घरबार क्षणभरमै बाढीले बगाएको भन्दै उनीहरूको पीडा आफूहरूले गहिरोसँग बुझेको बताएका छन् ।

प्रधानमन्त्री शाहले भने, ‘आफन्त हराएर अथाह पीडामा रहेका नागरिकहरूको आक्रोश स्वाभाविक हो । एकै क्षणमा आफ्नो संसार गुमाएकाहरूको आक्रोश, आक्रोशभन्दा बढी पीडा व्यक्त गर्ने माध्यम हो । हामीले उहाँहरूको आक्रोशलाई संयमतापूर्वक सुन्नुपर्छ ।’

उनले बाढीपछि अस्थायी शिविर तथा होल्डिङ सेन्टरमा रहेका ज्येष्ठ नागरिकलाई राहत, स्वास्थ्य सेवा र आवश्यक सुविधा उपलब्ध गराइएको जानकारी समेत दिएका छन् ।

उनका अनुसार नुवाकोटको देवीघाट ज्येष्ठ नागरिक संरक्षण तथा अध्ययन प्रतिष्ठानको विदुर भवन बाढीबाट क्षतिग्रस्त भएपछि त्यहाँ रहेका ७ जना ज्येष्ठ नागरिकलाई काठमाडौंको नेपाल सिनियर केयर म्हैपी र १७ जनालाई नुवाकोटको इनारपाटीस्थित कृष्णप्रणामी मन्दिरमा अल्पकालीन आश्रय दिइएको छ ।

उनीहरूका लागि ह्वीलचियर तथा वाकर उपलब्ध गराउनुका साथै स्वास्थ्य परीक्षण र मनोसामाजिक परामर्शसमेत भइरहेको उनले बताएका  छन् ।

 

 

 

फेसबुकबाट तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार