काठमाडौं । भोटेकोशी नदीमा पुनः बाढीको सम्भावना के कस्तो छ भन्ने जिज्ञासा सबैमा बढेका समय बाढी पूर्वानुमान महाशाखाले नयाँ जानकारी सार्वजनिक गरेको छ ।
जल विज्ञान तथा जलस्रोत अनुसन्धान केन्द्रअन्तर्गतको बाढी पूर्वानुमान महाशाखाले शुक्रबार राति सूचना जारी गर्दै चिनियाँ समकक्षी निकायबाट प्राप्त सूचनाको आधारमा तत्काल ठूलो बाढीको सम्भावना नरहेको स्पष्ट पारेको छ।
महाशाखाका अनुसार नुवाकोट तथा रसुवा क्षेत्रमा हिमताल विस्फोटन भई भोटेकोशी नदीमा बाढी आउन सक्ने भन्दै विभिन्न माध्यमबाट जानकारी माग्ने फोन तथा सन्देशको संख्या बढेपछि पछिल्लो अवस्थाबारे स्पष्ट पारिएको हो।
‘यस केन्द्र चिनियाँ समकक्षी निकायहरूसँग नियमित सम्पर्कमा रही प्राप्त सूचनाहरूको निरन्तर अनुगमन गरिरहेको छ,’ महाशाखाले भनेको छ, ‘हालसम्म प्राप्त सूचनाका आधारमा तत्काल ठूलो बाढी आउन सक्ने सम्भावना देखिएको छैन।’
चीनको जलस्रोत मन्त्रालयअन्तर्गतको चाइना मेटियोरोलोजिकल एडमिनिस्ट्रेसनले नेपालको जल तथा मौसम विज्ञान विभागलाई हिमतालको जोखिम तथा मौसमसम्बन्धी सूचना उपलब्ध गराउँदै आएको छ। सोही सूचनाका आधारमा अहिले भोटेकोशीमा तत्काल ठूलो बाढीको जोखिम नरहेको महाशाखाले जनाएको हो।
पछिल्लो समय भोटेकोशीमा फेरि ठूलो बाढी आउन सक्ने भन्दै सामाजिक सञ्जाल तथा विभिन्न माध्यमबाट सूचना फैलिएका थिए। महाशाखाले भने पुष्टि नभएका सूचना र हल्लाका आधारमा नआत्तिन सर्वसाधारणलाई आग्रह गरेको छ।
‘पुष्टि नभएका सूचना तथा हल्लाको आधारमा नआत्तिनुहुन तथा संयमित रहनुहुन अनुरोध गर्दछौँ,’ महाशाखाले भनेको छ।
यद्यपि नदीको अवस्था र हिमतालसम्बन्धी जोखिमको निरन्तर अनुगमन भइरहेको महाशाखाले जनाएको छ। बाढीको सम्भावना देखिएमा केन्द्रबाट एसएमएसमार्फत पूर्वसूचना सम्प्रेषण गरिने भएकाले आधिकारिक सूचनामात्र विश्वास गर्न पनि आग्रह गरिएको छ।
थप जानकारी आवश्यक परेमा बाढी पूर्वानुमान महाशाखाको टोल फ्री नम्बर ११५५ ९२० मा सम्पर्क गर्न सकिने जनाइएको छ।