काठमाडौं । प्रधानमन्त्री बालेन शाहले रसुवा–भोटेकोशी बाढीबाट प्रभावित बालबालिकालाई चाँडै सुरक्षित र सहज बसोबासको व्यवस्था गरिने बताएका छन् ।
श्रीकृष्ण जन्माष्टमीका अवसरमा शुभकामना सन्देश दिँदै प्रधानमन्त्री शाहले यस्तो बताएका हुन् । उनले बाढी प्रभावित क्षेत्रका बालबालिकाले यसपटकको उत्सव अन्य बालबालिकाजस्तो खुसीसाथ मनाउन नपाएको प्रति दुःख समेत व्यक्त गरे ।
उनले विपद्पछि प्रभावित क्षेत्रबाट गम्भीर घाइते, गर्भवती, सुत्केरी, अपाङ्गता भएका व्यक्ति र वृद्धवृद्धासँगै बालबालिकालाई पनि उद्धारमा पहिलो प्राथमिकता दिइएको बताए । अहिले प्रभावित क्षेत्रमा सञ्चालन भइरहेका होल्डिङ सेन्टरमा बालबालिका बसिरहेको उल्लेख गर्दै उनले उनीहरूको बसाइ सहज नभएको आफूहरूलाई थाहा रहेको बताएका छन् ।
उनले प्रभावित बालबालिकालाई भोलिका उज्याला झुल्का भन्दै उनीहरूको सुरक्षित भविष्यका लागि सरकार लागिपरेको बताएका छन् ।
शाहले जलवायु परिवर्तनका कारण हिमालय क्षेत्रमा ठूलो असर परिसकेको भन्दै आगामी दिनमा विपद् जोखिम न्यूनीकरणका लागि सबै सजग हुनुपर्नेमा जोड दिएका छन् । प्रभावित क्षेत्रका बालबालिकाले प्रत्यक्ष रूपमा विपद् भोगेकाले अन्य क्षेत्रका बालबालिकालाई पनि विपद्सँग लड्न, बच्न र अरूलाई बचाउन सिक्न आग्रह गरेका छन् ।