काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले प्रधानमन्त्री सुशीला कार्की र मुख्य राजनीतिक दलका शीर्ष नेताबीच तोकिएकै समयमा निर्वाचन सम्पन्न गर्ने समझदारी भएको दाबी गरेका छन् ।
प्रधानमन्त्री कार्कीसंग कांग्रेस सभापति शेरबहादुर देउवा, एमाले अध्यक्ष केपी ओली, नेकपा संयोजक प्रचण्डले छलफल गरेका थिए । छलफलपछि सञ्चारकर्मीसंग प्रतिक्रिया दिदै कांग्रेस सभापति देउवाले पनि सरकारले चुनावको वातावरण निर्माण गरे दलहरु सहभागी हुने भनेका छन् ।
देउवाले सरकारले सुरक्षा लगायतका विषयमा व्यवस्था गर्न सके तीन ठूला दल चुनावमा जाने दाबी गरेका हुन्।
यस्तै, बैठकपछि सञ्चारकर्मीसँग संक्षिप्त कुरा गर्दै तथा सरकारका प्रवक्ता खरेलले भने, “एमालेका अध्यक्ष ओलीले स्पष्ट रूपमा एमाले चुनावमा जान तयार छ, तर सरकारले वातावरण बनाओस् भन्नुभएको छ । कांग्रेस सभापति देउवाले पनि अब संसद् पुनःस्थापना नभइ निर्वाचनमा जाने कुरालाई स्पष्टसँग भन्नुभएको छ ।”
सभापति देउवाले बैठकमा कांग्रेसको अबको एजेण्डा संसद् पुनःस्थापना नभइ चुनाव भएको उल्लेख गर्दै चुनावका लागि तयार हुन अध्यक्ष ओलीलाई आग्रह गरेको पनि मन्त्री खरेलले जानकारी जनाए । बैठकमा फागुन २१ गते हुने निर्वाचनको समयमा मौसमले साथ नदिएको खण्डमा के गर्ने भन्ने बारेमा पनि छलफल भएको थियो ।