रुकुम पूर्व । रुकुमकोटमा पहिलोपटक इन्डोर ‘प्रथम खुल्ला स्केटिङ प्रतियोगिता–२०८२’ आयोजना हुने भएको छ । प्रतियोगिता मंसिर २७ गते बिहान ११ बजे उद्घाटन हुनेछ ।
नेपाल स्केटिङ तथा स्केटबोर्डिङ एसोसिएसन र रेयान्स स्केट पार्कको संयुक्त आयोजनामा हुन लागेको प्रतियोगिता सबै उमेर समूहका स्केटरहरूसाठी खुला रहने आयोजक संस्थाकी अध्यक्ष अस्मि बुढा मगरले जानकारी दिइन्।
उनका अनुसार प्रतियोगितामा सहभागिताका लागि सिनियरतर्फ दर्ता शुल्क रु. ५०० र जुनियरतर्फ रु. २०० निर्धारण गरिएको छ।
उनले स्केटिङ खेलप्रति नयाँ पुस्ताको आकर्षण बढाउने, स्थानीय प्रतिभा पहिचान गर्ने तथा रुकुमको आन्तरिक पर्यटन प्रवर्द्धनमा सहयोग पुगोस् भन्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको बताइन्।
उनका अनुसार प्रतियोगितामा महिला र पुरुष दुवै समूहका उत्कृष्ट स्केटरलाई समान रुपमा सम्मान गरिनेछ।
प्रतियोगितामा विजयी स्केटरलाई आकर्षक नगद पुरस्कारका साथै मेडल तथा प्रमाणपत्र प्रदान गरिनेछ। सिनियरतर्फ पुरुष तथा महिलामा प्रथम हुनेले मेडल, प्रमाणपत्र र रु. १० हजार, द्वितीयले मेडल, प्रमाणपत्र र रु. ७ हजार ५०० तथा तृतीयले मेडल, प्रमाणपत्र र रु. ५ हजार प्राप्त गर्नेछन्। त्यस्तै, जुनियर समूहमा प्रथम, द्वितीय र तृतीय हुनेले क्रमश: रु. ५ हजार, रु. ३ हजार र रु. २ हजार पाउने आयोजकले जनाएको छ।
यसका साथै उत्कृष्ट प्रदर्शन गर्ने स्केटरहरूले लुम्बिनी प्रदेशस्तरीय स्केटिङ प्रतियोगितामा प्रतिनिधित्व गर्ने अवसर पनि पाउनेछन्। जिल्लामा यस्ता प्रकृतिको प्रतियोगिता पहिलोपटक आयोजना हुन लागेकाले कार्यक्रम सफल बनाउन सबैको सहकार्य आवश्यक रहेको अध्यक्ष मगरले बताइन्।
रुकुमकोटमा आयोजना हुन लागेको यस प्रतियोगितालाई स्थानीय खेलकुद क्षेत्रमा नयाँ अध्यायको रूपमा लिइएको छ।