साढे दुई वर्षीया आर्यातारालाई विधिपूर्वक भित्र्याइयो कुमारीघरमा

96 Shares

काठमाडाैं । नयाँ कुमारी आर्यतारा शाक्यलाई कुमारी आसनमा विराजमान गराइएको छ ।

मंगलवार मध्यान्ह आर्यतारालाई कुमारी आसनमा विराजमान गराइएको हो । साढे दुई वर्षीया आर्यातारा केशचन्द्र पारावर्त महाविहार इन्तुबहालकी कुलपुत्री हुन्। 

मंगलवार दिउँसो सवा १२ बजेर ५ मिनेटको शुभ साईतमा वसन्तपुरस्थित कुमारी घरमा विशेष अनुष्ठान गरी कुमारी आसनमा विराजमान गराइएको हो । 

विशेषगरी हिन्दु र बौद्ध दुवै धर्मावलम्बीले पूजा गर्ने कुमारीले औपचारिक जिम्मेवारी ग्रहण गरेपछि अब राजकीय भूमिका सुरु भएको छ । इटुम्बहालकी अढाइ वर्षिया शाक्यले विभिन्न धार्मिक गतिविधिमा सहभागी भएर तलेजु भवानीको प्रतीकात्मक भूमिका निर्वाह गर्नुपर्ने हुन्छ । तत्कालीन राजा जयप्रकाश मल्लले कुमारीलाई स्थापना गरेको बताइएको छ । 

कुमारीघर व्यवस्थापन समितिका संयोजक गौतम शाक्यका अनुसार इन्द्रजात्रा, नवरात्रीलगायत तोकिएका परम्परागत संस्कृतिमा कुमारीले सहभागिता जनाउने तथा सर्वसाधारणलाई तोकिएको समयमा दर्शन दिने कार्यसूची हुन्छ । 

वसन्तपुरस्थित कुमारीघरमा नियमानुसार कुमारीलाई आवश्यक सेवा तथा खानपान, आवासको प्रबन्ध गरिने प्रचलन छ । कोजाग्रत पूर्णिमाका दिन राष्ट्रप्रमुखले पनि कुमारीको दर्शन गर्ने परम्परा छ ।

कुमारी छनोटको विधिअनुसार गुठी संस्थान, पञ्चाङ्ग निर्णायक समिति र सरोकारवालासँगको सल्लाह तथा परामर्शपछि आर्यतारालाई नयाँ कुमारी छनोट गरिएको थियो । यसैबीच हालकी कुमारी तृष्णा शाक्यलाई पनि विशेष समारोहमा पूजाआजा गरी बिदाई गरिएको छ । 

फेसबुकबाट तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार