सरकार दमनमा उत्रिएको भन्दै कृषिमन्त्री रामनाथ अधिकारीले दिए पदबाट राजीनामा

36 Shares

काठमाडौं । कृषि तथा पशुपन्छी विकास मन्त्री रामनाथ अधिकारीले मन्त्री पदबाट राजीनामा दिएका छन्। 

काठमाडौंसहित देशभर भइरहेका जेनजी आन्दोलनका क्रममा भएको दमन, हत्या र बल प्रयोगका घटनाप्रति गहिरो आपत्ति जनाउँदै मन्त्री अधिकारीले सरकारमा बस्न आफुलाई नैतिक रूपले असह्य भएको बताएका छन् ।

धादिङ क्षेत्र नम्बर २ बाट नेपाली कांग्रेसका तर्फबाट निर्वाचित अधिकारीले सार्वजनिक वक्तव्य जारी गर्दै आफ्नो राजीनामाको घोषणा गरेका हुन्। उनले भनेका छन्, “साना नानीहरूमाथि गोली चलाएर देशलाई शोकमग्न बनाउने सरकारले दिँदै गरेको सन्देश लोकतान्त्रिक नभई तानाशाही हो। यस्तो सरकारमा बसेर म अपराधबोधमा छु।”

उनले २०८१ असार ३१ गते मन्त्री पद सम्हालेका थिए। अधिकारीले नेपाली कांग्रेसको लोकतान्त्रिक मूल्यप्रति आफू सदैव प्रतिबद्ध रहेको भन्दै सरकारको हालको कार्यशैली उक्त मूल्य विपरीत रहेको स्पष्ट पारेका छन्।

“शान्तिपूर्ण विरोध, प्रश्न सोध्न पाउने अधिकार लोकतन्त्रको आत्मा हो,” भन्दै उनले हिंसात्मक दमनको विरोधमा राजीनामा दिएको बताएका छन्।

अधिकारीले सरकारसँग प्रश्न गरेका छन्, “देश निर्माणमा सहकार्य गर्नु पर्ने पुस्तासँग कसरी युद्ध जस्तो व्यवहार गर्न सकिन्छ?” साथै, जनताको जीवन र अभिव्यक्ति स्वतन्त्रताभन्दा माथि केही नहुने स्पष्ट गर्दै उनले लोकतन्त्रको रक्षा गर्न सबै राजनीतिक दल र नेताहरूलाई चेतना विकसित गर्न आह्वान गरेका छन्।

उनको राजीनामालाई सत्तापक्षभित्र दबाब र विभाजनको संकेतका रूपमा लिइएको छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार