काठमाडौँ । साविक विजेता लुम्बिनी लायन्सले नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा विजयी सुरुवात गरेको छ । त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा सोमबार भएको खेलमा लुम्बिनीले सुदूरपश्चिम रोयल्सलाई ७ विकेटले पराजित गरेको हो ।
सुदूरपश्चिमले दिएको ८८ रनको लक्ष्य लुम्बिनीले ९ ओभर ५ बलमा ३ विकेट गुमाएर पूरा गर्यो ।
लुम्बिनीका ओपनर डार्सी सर्टले १८ बलमा ४ चौका र ३ छक्कासहित सर्वाधिक ४० रन बनाए । आसिफ शेखले ३२ रनको योगदान दिए । दुवैले पहिलो विकेटका लागि ७१ रनको साझेदारी गरेका थिए ।
त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको सुदूरपश्चिम १७ ओभर २ बलमा ८७ रनमा समेटिएको थियो । टोलीका कप्तान दीपेन्द्रसिंह ऐरीले सर्वाधिक २७ र अनिल खरेलले अविजित १७ रन बनाए । लुम्बिनीका किशोर महतोले चार तथा शेर मल्लले तीन विकेट लिए ।
खेलमा नेपालमा पहिलो पटक एनपीएलअन्तर्गत निर्णय पुनरावलोकन प्रणाली (डीआरएस) प्रयोग गरिएको थियो । लुम्बिनीका कप्तान रोहित पौडेलले शेर मल्लको बलमा गरिएको एलबीडब्ल्यु अपिलमा अम्पायरको निर्णयविरुद्ध डीआरएस लिए पनि त्यसमा सफल हुन सकेनन् ।
एनपीएलअन्तर्गत मंगलबार दुई खेल हुनेछन् । पहिलो खेलमा विराटनगर किंग्स र चितवन राइनोज दिउँसो साढे १२ बजे भिड्नेछन् भने दोस्रो खेलमा कर्णाली याक्स र जनकपुर बोल्ट्स साँझ ५ बजे आमनेसामने हुनेछन् ।